Thaha

Saturday 21 September - 3:27 pm NST

आन्दोलनरत दललाई वार्तामा आउन प्रधानमन्त्रीको अपील


काठमाडौं, २४ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत दललाई वार्तामा आउन अपील गर्नु भएको छ । १ सय १ औं बी पी जन्म जयन्तीको सम्दर्भमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले वार्ताबाटै समस्याको समाधान हुने भएकाले वार्ताका लागि आन्दोलनरत दललाई अपील गर्नु भएको हो ।

पहिलो संविधानसभाबाट संविधान बन्न नसकेको स्मरण गर्दै कोइरालाले दोस्रो संविधानसभाले पनि संविधान जारी गर्न नसके मुलुकमा तानाशाह जन्मिने बताउनु भयो । वार्ताबाटै समस्याको समाधान गर्न आफू तयार रहेको भन्दै काँग्रेस सभापति समेत रहेका कोइरालाले सिंगो मुलुकलाई बन्दी नबनाउन आन्दोलनकारी शक्तिलाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा काँग्रेस महामन्त्री समेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधान निर्माण प्रकृया नरोकिने बताउनु भएको छ । उहाँले आन्दोलनरत मधेसवादीदलका आवाजलाई वार्ताको माध्यमबाट समाधान गर्नका लागि आफ्नो दल तयार रहेको बताउनु भयो ।

यसैबीच नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको एकसय एक औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गर्दैछन ।  विक्रम संवत १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो ।

२०१५ सालमा भएको आम निर्वाचन पछि १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात आठ वर्ष जेलजीवन बिताउनु भएको थियो ।

राजनीतिज्ञ मात्र नभएर साहित्यकारको रुपमा समेत परिचित कोइरालाका दोषीचश्मा, तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी लगायतका कृति चर्चामा छन । कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । विपीले अंगिकार गरेको समाजवादको बाटो नेपाली काँग्रेसले विर्सेको भन्दै आलोचना हुने गरेको छ ।